खोटाङको कचहरीडाँडामा ‘क, ख’ देखि पिएच्.डी. सम्म

0
775

धनप्रसाद सुवेदी ‘श्रमिक’
संस्मरण
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल । दिक्तेलको उत्तरपूर्वी सिमानामा अवस्थित रमाइलो गाउँ नेर्पा । नेर्पा गाविसको पश्चिमतर्फ दिक्तेल गाविससँग सीमा जोडिएको वडा नं ९ को मोहारिया टोल र त्यसको बिचतिर पर्ने आकर्षक घुमाउनेडाँडो । घुमाउनेडाँडामुनि दिक्तेलबाट नेर्पा आउने पुरानो मूलबाटो र त्यही मूलबाटो मुनि पारि सोल्मातिरबाट हेर्दा प्रस्ट देखिने खरको छानो भएको पुरानो पाराको घर । त्यही घरको माथ्लोपट्टिको बलेँसीमा रूपाकोटतिर शिर पार्दै मेरी आमा नन्दकुमारी सुवेदीको कोखबाट वि.सं. २०२६ फागुन २० गते मङ्गलबार विहान घामको भुल्कोसँगै म जन्मिएको रे ।

हजुरबा चाँडै बित्नु भएकाले बडिबा, बुबा र काकाहरू रिनमा चुलुम्म डुब्नु भएको रहेछ । त्यही रिनबाट पार पाउन हरेक हिउँदमा मेरा बुबा देवीप्रसाद दार्जिलिङ जानु हुन्थ्यो र पुरेत्याँही पेसाबाट केही कमाएर दसैँताका घर आउनु हुन्थ्यो । आमाले पढ्नु भएको थिएन । घरछेउमा स्कुल पनि थिएन । पढ्न सिकाउने दाजुदिदी पनि थिएनन् । त्यही भएर होला ५–६ वर्षको उमेरसम्म मेरो पढाइको कुरै भएन ।

नेर्पामा पहिलोपटक स्कुल बनाएको ठाउँ कचहरीडाँडा हो । कचहरीडाँडा हाम्रो घर नजिकै छ । पहिलेपहिले गाउँघरका मुद्दामामिला छिन्ने अर्थात कचहरी गर्ने ठाउँ भएकाले कचहरीडाँडा नाम रहेको त्यस ठाउँमा नेर्पा गाविसकै पहिलो स्कुल खोलिएको थियो र माहिला मास्टर (धनप्रसाद पराजुली) त्यहाँका पहिलो शिक्षक थिए । पछि त्यो स्कुल विभिन्न ठाउँमा सर्दै हाल कालिका मावि का रूपमा परिणत भएको छ । त्यस ठाउँको त्यो ऐतिहासिकताको सम्झना र सम्मान गरौँ भनेर म नेर्पा गाविसकै सचिव हुँदा धनप्रसाद पराजुलीको विशेष पहलमा तत्कालीन गाविस अध्यक्ष दानबहादुर राईबाट कचहरीडाँडा प्रावि नामको स्कुलका लागि शिलन्यास पनि भएको हो, तर विविध कारणले त्यो स्कुल त्यहाँबाट अलिक तल पुगेको छ र हाल नेर्पा प्राविका नाममा सञ्चालित छ । कचहरीडाँडामा भने अहिले स्कुल त छैन नै कचहरी पनि हुन छाडेको छ । हो त्यही कचहरीडाँडामा ६–७ वर्षको हुँदो हुँ, एउटा छाप्रो बनाएर फेरि पढाइ सुरु गरियो । दस कक्षा पढेका होमकाजी पराजुली त्यस स्कुलका शिक्षक । प्रत्येक घरबाट २–४ पाथी अन्न उठाएर पारिश्रमिक दिने गरी सुरु भएको त्यो स्कुल केही महिला चलेर बन्द भयो । खुला चउर, गाई–भैँसीको गोठजस्तो चित्राको कटेरोमा चित्रैमा बसेर पढ्नु पर्ने । मेरो कखरा त्यही स्कुलबाट सुरु भएको हो ।

कचहरीडाँडाको स्कुलमा पहिलोपटक पुग्दा म निकै डराएको थिएँ । होमकाजी सरको हातमा बाँसको सिर्कनो देखेपछि मलाई अझै डर लाग्यो । त्यहाँ क ख….सिक्नेदेखि ४–५ कक्षा पढ्नेहरू पनि थिए । अहिलेको कालिका मावि त्यतिबेला निमावि बन्ने क्रममा थियो र त्यहाँ पढ्न जाने नेर्पाको ओल्लो पाटोका विद्यार्थी पनि बिहान ६.३० देखि ८.३० सम्म कचहरीडाँडाको स्कुलमा पढेर जान्थे । भर्खरै पढ्न सुरु गरेकाहरू भने ९.३० बजेसम्म पढ्थे । सुरु दिन मसँग कापी, किताब, पेन्सिल केही थिएन । म अरुले पढेको हेरेर–सुनेर बसेँ । स्कुल छुट्टी हुने बेला ‘भोलि सबैले कापी र पेन्सिल लिएर आउनु है’ भनिएको र दिक्तेल गएर कापी, पेन्सिल ल्याउन केही दिन लागेकाले त्यस बिचमा म स्कुल गइनँ । कापी र पेन्सिल आएपछि म स्कुल जान थालेँ ।

होमकाजी सरले मेरो कापीमा ‘क, ख, …ज्ञ’ लेखिदिनु भयो र भन्न सिकाउनु भयो । सहरर्याम्पा बा (स्व. सिंहबहादुर राई) की कान्छी छोरी ‘कान्छी दिदी’ ले अङ्गेजी वर्णमालाको ‘अ’ अक्षर लेखेर सरलाई देखाइन् म छक्क परेँ । मलाई पनि ‘अ’ लेख्न मन लाग्यो र अरुको आँखा छलेर लेखेँ । सम्भवतः त्यो ‘ग’ भयो । ‘भोलि सबैजना नुहाएर आउनु, ननुहाइ आएर घाँटीमा मैलो देखियो भने नुहाएर आउने साथीले मुखमा थुकिदिन्छन् नि’ छुट्टी हुनेबेला सरले भन्नुभयो । त्यतिबेला मलाई नुहाउन डर लाग्थ्यो, त्यसैले भोलिपल्ट म स्कुल गइनँ । त्यो कुरा आमाले थाहा पाउनु भएछ र मलाई जबरजस्ती नुहाइ दिनुभयो । त्यसको भोलिपल्ट देखि म नियमित रूपमा स्कुल जान थालेँ ।

कचहरीडाँडाको स्कुलबाट मैले ‘कपुरी क’ देखि ‘ज्ञानी ज्ञ’ सम्म भन्न सिकेँ लेख्न चाहिँ उँभो आकासतिर फर्किएको ‘अ’ मात्र । खै के भएर हो, कचहरीडाँडाको त्यो स्कुल केही दिनपछि बन्द भयो । त्यसै वर्षदेखि (२०३३ सालतिर) बुबा दार्जिलिङ जान छाड्नु भयो र मेरो पढाइ घरमै सुरु भयो । त्यतिबेला ‘पहिला किताब’ भनिने सानो पुस्तिका पाइन्थ्यो (त्यसलाई पछि सचित्र ठुलो वर्णमाला भन्न थालियो), बुबाले किनिदिनु भयो । त्यही किताबबाट मैले अक्षर पढ्न र लेख्न सिकेँ । त्यसमा अक्षर चिनाउन सजिलोका लागि सम्बन्धित अक्षरबाट सुरु हुने वस्तुका चित्र र त्यस सम्बन्धी लयात्मक कथन पनि हुन्थ्यो । त्यहाँ भएको ‘ऐनामा मैना छ’ भन्ने सचित्र कथन मेरा लागि स्मरणीय छ । बुबाले भनेको सुनेका आधारमा एक दिन मैले ‘ऐनामा मैना छ’ लाई ‘मैनामा ऐना छ’ पढेँछु । बुबाले सुन्नु भएछ र ‘उल्टो पढ्छस्’ भन्दै एक झापड हिर्काउनु भयो । त्यसपछि म सचेत भएर पढ्न थालेँ र चाडैँ पढ्न र लेख्न जान्ने भएँ ।

उतिबेला ससाना केटाकेटीलाई ठुला मान्छेले जिस्क्याउने, हप्काउने, तर्साउने प्रचलन अलिक बढी थियो । हाम्रो टोलबाट स्कुल जाने केटाकेटी थोरै थिए र भएका अलिक ठुलाहरू पनि भरलाग्दा थिएनन् । स्कुल पढाउने कुरामा त्यति महत्व पनि दिइँदैन थियो । घरमै पढेर चण्डी, रुद्री र बढीमा पुराण भन्न सके भइहाल्छ भन्ने बुबाको विचार थियो । त्यसैले मैले घरमै बुबासँग पढ्न सिकेँ । घरमै चण्डी, रुद्री र सानोतिनो हिसाब पनि बुबासँग सिकेँ । आठ वर्षको थिएँ, सायद त्यतिबेलै देखि कक्षा ३ सम्म निःशुल्क किताब दिने रे भन्ने सुनियो । म पनि स्कुल जान थालेँ तर म जाँदा कक्षा १ को किताब सकिएको हुनाले मैले पाइनँ । त्यही बिचमा स्कुलको ग्राउन्डछेउमा लडेर मेरो हात भाँचियो र मेरो त्यो वर्षको पढाइ त्यत्तिकै भयो । नौ वर्ष पूरा भएर दस लागेपछि मात्र म १ कक्षामा भर्ना भएँ । हामे टोलबाट म, मेरा बडाबाको छोरा सीताराम, हाकेका नामले चिनिने होमप्रसाद बास्तोला, तेजबहादुर भुजेल, हर्क राई लगायत ८–१० जना मात्र स्कुल जान्थ्यो । हामीहरु भन्दा ५–६ कक्षा अगाडि पढ्ने हरि चाम्लिङ (स्वर्गीय) हाम्रा अभिभावक जस्तै थिए । गुच्छा आकारका राता मिटाई ५ पैसा गोटा पाइन्थ्यो । एउटा मिठाई दौराको फेरमा पोक्याई बाहिरबाट टोकेर दामसाही भाग लगाइन्थ्यो । सिङ्गै मिठाई खान पाउनु अहोभाग्य हुन्थ्यो । घरमा पढेका कुराले मलाई ठुलो सहयोग भयो । कक्षा १ मा पास मात्र भएँ, कक्षा २ देखि ७ सम्म भने दोस्रो हुनु परेन ।

कक्षा ७ पास गरेपछि पढ्नलाई दिक्तेल जानु पर्ने । यही बेला ठुलो मामा (मधुसूदन खतिवडा) ले उहाँको जेठो छोरा नवराजलाई पण्डित बनाउन भनी खाल्ले रामप्रसाद न्यौपानेकहाँ संस्कृत पढाउन पठाउनु भएछ । बुबा पनि मलाई पण्डित बनाउन चाहनु हुन्थ्यो र नवराजसँगै रामप्रसाद गुरुकहाँ पढाउन खोज्नु भयो, तर मैले मानिनँ । केही समयपछि नवराज पनि संस्कृत पढ्न छाडेर स्कुलमै भर्ना भए (अहिले इलेक्ट्रोनिक्स इन्जिनियर छन्) । म सरस्वती मावि (हाल उच्च मावि) मा कक्षा ८ मा भर्ना भएँ । सीताराम (मेरो जेठो बडाबाको छोरा, भाइ), कृष्ण पराजुली, कुमार राई (स्वर्गीय), कालुराम राई, राजकुमार राई, चित्रकुमार राई, बालकुमारी गुरुङ (संगीता), ऐ्श्वर्य गुरुङ, माधव राई लगायतका सहकक्षी अनि दिलकुमार खड्का, गणेश खड्का, खम्बसिँह खड्का, चन्द्र राई आदि अघिल्लो कक्षाका साथीहरू नेर्पाबाट दिक्तेल पढ्न जान्थ्यो । हामी धेरै जसो घरबाटै धाउँथ्यौ । दिक्तेलमै डेरा गर्नेहरू पनि हरेक शुक्रबार घर आउँथे र शनिबार/आइतबार बिहानै सामल, खाजा, तर्कारी, दाउराहरू लिएर जान्थे । वर्षायाममा निकै कष्ट खेपियो । जुका टिप्दै, बाढी र वर्षासँग जुध्दै स्कुल धाइयो । अहिले जस्तो टिफिन बोक्ने चलन थिएन । स्कुलबाट फिर्दा भोकले टाठ परिन्थ्यो र ऐँसेलु, बर, आरुबखडा मात्र होइन अलिअलि पँहेलो भएका गहुँ र धानका बाला चुँड्दै र हरिया मकै दार्दै भोक मारिन्थ्यो । कहिलेकाहीँ कपी किन्ने पैसा उबारेर सेलरोटी र बिस्कुट खाइन्थ्यो । यसरी ८, ९ र १० कक्षा धेरैजसो घरबाट (डेढ घन्टाको बाटो) र केही महिना दिक्तेलमा डेरा गरेर पूरा गरियो ।

नेर्पामा पढ्दा कक्षामा १५–१६ जना विद्यार्थी हुन्थे, समावि दिक्तेलमा एउटै कक्षामा २०० भन्दा बढी विद्यार्थी, ३ वटा सेक्सन, राम्रो प्रतिस्पर्धा हुने । कक्षा ८ मा म बि सेक्सनमा परेको थिएँ । बि सेक्सनमा बाम्राङ, लफ्याङ र ब्वासुङ निमाविबाट प्रथम भएर आएका क्रमशः मेखबहादुर राई (हाल ब्रिटिस सेनामा कार्यरत), कुमार राई (उनीसँग स्कुल छुटेपछि भेट भएको छैन), इन्द्रबहादुर राई (मालपोत कार्यालय खोटाङमा नासु), नेर्पाबाट प्रथम भएर आएको म र समाविबाट दोस्रो भएका हेमन्त श्रेष्ठ (उनको २०५५–५६ तिर निधन भयो) लगायतका विद्यार्थीबिच कडा प्रतिस्पर्धा थियो । समाविबाट प्रथम भएका लोकेन्द्र राजभण्डारी, दोर्पा निमाविबाट आएका उद्धव रिजाल, राजापानीबाट आएका टीका कार्की अन्य सेक्सनमा थिए । कक्षा ९ र १० मा भने हामी सबै मुख्य प्रतिस्पर्धीहरूलाई सेक्सन ए मा राखियो । त्यति बेला बोर्डिङ स्कुल थिएनन् र सरकारी स्कुलको पढाइ राम्रो थियो । सदरमुकामको मावि भएकाले समावि निकै राम्रो मानिन्थ्यो ।

त्यतिबेला भलिबल लोकप्रिय खेल थियो । धेरै बिदाथी र त्यसमा पनि आफू अलिक दुब्लो पातलो भएकाले भलिबलतर्फ मेरो रुचि भएन । चेस भने निकै खेलिन्थ्यो । पञ्चायतको अन्त्य हुँदै गरेको समय थियो । जिल्लाको सदरमुकाम भएकाले दिक्तेलमा राजा, रानी, युवराज आदिका जन्मोत्सव–जयन्ती धुमधाम मनाइन्थ्यो । त्यस अवसरमा हुने कविता, वक्तृत्व, निबन्ध र हाजिरीजवाफमा भाग लिन्थेँ । मावि स्तरीय हाजिरीजवाफमा समाविको टोलीमा छानिएको थिएँ । हाम्रो टोलीले अन्तर मावि हाजिरीजवाफमा २०४४ मा प्रथम र २०४५ मा दोस्रो स्थान ल्याएको थियो । मोती जयन्ती, देवकोटा जयन्ती, प्रजातन्त्र दिवस आदि अवसरमा भएका कविता प्रतियोगितामा अग्रज कविहरूसँगै कविता वाचनमा सहभागी भई आधा दर्जन भन्दा बढी प्रतियोगितामा पुरस्कृत भएको थिएँ ।

कक्षोन्नतिको रिजल्ट सुनाउँदा पहिलो, दोस्रो, तेस्रो र उत्तीर्ण भनी सुनाइथ्यो । कक्षा ८ र ९ मा म अघिल्ला ३ स्थानमा परिनँ । टेस्ट परीक्षामा १ नम्बरको अन्तरले तेस्रो भएको थिएँ । त्यतिबेला केशव बराल डिएस्पी र तुलसी भट्टराई सिडियो थिए । उनीहरू दुवै कडा स्वभावका मानिन्थे । उनीहरूले हाम्रो एस्एल्सी परीक्षा (२०४५) ज्यादै मर्यादित बनाए । परीक्षार्थीलाई परीक्षा कोठामा पस्नुअघि प्रहरीले जिउ खानतलासी गरेर मात्र (छात्रालाई भने शिक्षिकाले) पठाइन्थ्यो र परीक्षाहलमा दायाँबायाँ गर्ने कुरै थिएन । त्यस साल समाविमा १९३ परीक्षार्थीमा २३ जना पास भएका थियौँ र मेरो मात्र प्रथम श्रेणी आयो । खै किन हो, २५ पूर्णाङ्कको व्यावसायिक विषय (कार्यालय सञ्चालन र लेखा) को प्राक्टिकलमा हामी केही राम्रा विद्यार्थीलाई २१ मात्र दिइयो । केही साथीहरूले जस्तो २५ पाएको भए म टेस्टमा सेकेन्ड हुन्थे, उद्धव रिजाल (हाल नेपाल सरकारको उपसचिव) ले मवि प्रथम श्रेणीमा पास गर्थे, उनले ४१७ नम्बर ल्याए (प्रथम श्रेणीका लागि ४२० चाहिन्थ्यो), प्राक्टिकलमा २४ मात्र दिएको भए उनको प्रथम श्रेणी हुन्थ्यो ।

त्यतिबेला प्रथम श्रेणीको मवि ठुलो कुरा मानिन्थ्यो र आई. एस्सी पढेर डाक्टर, इन्जिनियर जस्ता विषयतिर जानका लागि उपयुक्त । त्यसैले प्रथम श्रेणीमा पास गर्नेले साइन्स नै पढ्नु पर्छ भन्ने प्रकारको आम मानसिकता थियो । आफ्नो भने आर्थिक अवस्था बाहिर गएर पढ्नका लागि अनुकूल थिएन अनि आफ्नै प्रयासमा पनि बाहिर गएर पढ्न सकिन्छ भन्ने ज्ञान र आँट पनि भएन । म दिक्तेल क्याम्पसमा आई.ए. पढ्न थालेँ । यही बेला लोकसेवा आयोगबाट गाविस सचिवको जाँच पास भई ओखलढुङ्गाको सुदूर पश्चिम पोकली गाविसमा खटिएँ । कक्षा कोठामा गुरुहरूले पढाएको स्वाद थाहा नपाइकनै आई. ए. र बीए तहको पढाइ पूरा गरियो । अर्थशास्त्रमा एमए गर्ने धोको थियो, तर नियमित पढाइको चाँजोपाँजो नमिलेकाले अर्थशास्त्रको पढाइ अर्को सालका लागि थाती राखी त्रि. वि. नेपाली केन्द्रीय विभागमा भर्ना भइयो । धेरैजसो कक्षाहरू छुटे पनि डा. वासुदेव त्रिपाठी, डा. वल्लभमणि दाहाल, मोहनराज शर्मा, डा. चुडामणि बन्धु, डा. मोहनहिमांशु थापा, डा. दयाराम श्रेष्ठ, घनश्याम कँडेल, माधव भण्डारी, गोपीकृष्ण शर्मा, ठाकुर पराजुली, डा. माधवप्रसाद पोखरेल, राजेन्द्र सुवेदी, डा. देवीप्रसाद गौतम जस्ता नेपाली समालोचनाका हस्तीहरूका कक्षाहरू लिन पाइयो । यस पढाइले प्रथम श्रेणीसहित एमए को प्रमाणपत्र दियो साथै दिक्तेल क्याम्पसमा पढाउने जागिर पनि मिल्यो । यस बिचमा बिहे गरियो र छोराहरू जन्मिए । उता अर्थशास्त्र पढ्ने अर्को वर्ष भने फेरि कहिल्यै आएन ।

दिक्तेल क्याम्पसमा पढाउँदै गर्दा २०६१ मा नेपाली आञ्चलिक उपन्यासका विषयमा शोध गर्ने गरी त्रि. वि. मा पिएचडी दर्ता गरियो । यस बिचमा त्रि. वि. सेवा आयोगबाट उपप्राध्यापक पास गरेँ र पाटन संयुक्त क्याम्पसमा खटिएँ । खुल्ला प्रतिस्पर्धाबाट त्रि. वि. सेवा आयोग पास गर्नु मेरो जीवनको एउटा महत्वपूर्ण सफलता थियो । सपरिवार काठमाडौँ बस्न थालियो । सामान्य शिक्षण पेसाबाट गुजारा चलाउनु पर्ने म जस्तालाई काठमाडौँको जीवन निकै चुनौतीपूर्ण छ । यही चुनौती अनि त्रि. वि. को स्थायी जागिरे भएकाले पाउने अध्ययन बिदाको सुविधा पनि लिने चाहनाका कारण मेरो पिएच. डि. शोधकार्य केही वर्ष रोकियो । यस बिचमा खोटाङ जिल्ला : विगत र वर्तमान कृति जन्मियो र समाजशास्त्रमा एमए को जाँच दिइयो । पिएचडी को धोको पूरा गर्नु त छँदै थियो । क्याम्पसबाट बिदा पनि मिल्यो र ३ वर्षको अध्ययन बिदाको अवधिमा पिएचडी पनि पूरा भयो ।

पिएचडी भाइभाको दिन (२०६८ चैत्र १६) मेरो शैक्षिक इतिहासको अविस्मरणीय दिन । शोधार्थीको मौखिक प्रस्तुति र प्रश्नोत्तरपछि अनुसन्धान समितिको बैठक बस्दो रहेछ र उपाधिको निर्णय हुने रहेछ । अनुसन्धान समितिको बैठक छोटो समयमै सकियो, मलाई बैठक कक्षमा बोलाइयो अनि मेरो मौखिक परीक्षाका लागि आउनु भएका बाह्य परीक्षक प्रा.डा. माधवप्रसाद पोखरेलबाट मलाई ‘ल, आजदेखि पिएचडी डाक्टर हुनु भो बधाई’ भन्दै अनुसन्धान समितिले मलाई बिदावारिधि उपाधि दिने निर्णय गरेको कुरा सुनाउनु भयो र हात मिलाउनु भयो । अनुसन्धान समितिका अध्यक्ष, त्रि.वि. मानविकी सङ्कायका डिन नवराज कणेल, सदस्यहरू, सहायक डिनहरू, मेरा निर्देशक, विशेषज्ञ, आन्तरिक परीक्षक सबैबाट मैले बधाई पाएँ । बैठक कक्षबाट बाहिर निस्कँदा मलाई पर्खेर बसेका मेरी जीवन सङ्गीनी यादेवी, मेरा घनिष्ट मित्र डा. सुकुम शर्मा, डा. विश्वनाथ भण्डारी, डिनको कार्यालयका कर्मचारीहरूबाट बधाई पाएँ । त्यतिबेला जीवनमा केही काम गर्न सकेँ कि क्या हो भन्ने लाग्यो । त्यस बेला मैलेँ मेरा आमाबुबालाई सम्झेँ, मेरा गुरुहरू र मेरा शुभचिन्तक साथीहरू सम्झेँ अनि कचहरीडाँडामा चित्रामाथि बसेर ‘कपुरी क….ज्ञानी ज्ञ’ पढेको सम्झिएँ ।

पिएचडी पूरा गर्ने पहिलो शर्त भनेको शोधार्थीको परिश्रम र लगाब हो भने योग्य र सहयोगी शोध निर्देशक तथा विशेषज्ञ पाउनु दोस्रो शर्त हो । परिवारजन, आफन्तहरू र साथीहरूको सद्भाव र सहयोगको पनि उत्तिकै भूमिका हुँदोरहेछ । मेरा शोध निदेशक प्रा. मोहनराज शर्मा वरिष्ठ नाटककार, निबन्धकार, कथाकार, उपन्यासकार हुनाका साथै नेपाली समालोचनाका एक जना हस्ती । त्यस्तै शोध विशेषज्ञ डा. गोपीन्द्र पौडेल राम्रा निबन्धकार तथा वरिष्ठ समालोचक । उहाँहरूको सहयोग र साथ मेरो सफलताका अभिन्न विषय हुन् । अङ्ग्रेजीमा लेखिने शोधमा भाषिक शुद्धता र फर्मेटमा समेत कम्प्युटरले सहयोग गर्छ । नेपाली भाषामा लेखिने शोधमा त्यस्तो सुविधा मिल्दैन बरु कुनै फन्टमा बोल्ड नदेखिने, कुनैमा कुनै वर्ण नै नहुने हुँदा विभिन्न फन्टको प्रयोग गर्नु पर्ने र यसबाट अनेक गोलमाल हुने हुन्छ । भाषा/साहित्यको शोधमा त भाषिक शुद्धताको विषय अतिरिक्त भार बन्न जाँदो रहेछ । शोधनिर्देशक, विशेषज्ञ, आन्तरिक परीक्षक र बाह्य परीक्षक (२ जना) समेत ५ जना विद्वान्हरूबाट स्वीकृत गराएपछि बल्ल मौखिक परीक्षामा जाने र मौखिक परीक्षामा विभिन्न विषयका आधा दर्जनभन्दा बढी विद्वानहरूका उचित–अनुचित सुझाव र प्रश्नहरू बिचबाट उम्कने कुरा त्यति सजिलो हुने रहेनछ । यी विद्वान्का बिचमा मत बाझ्ने कुरा त बरु एउटा प्रक्रियामा मिलाउन सकिन्छ, उनीहरूका बिचमा जुँगाको लडाइँ र आग्रह–पूर्वाग्रह रहेछ भने चाहिँ त्यसको मार निकै चर्को हुने देखिन्छ, धन्न मैले दोस्रो प्रकारको मार भने भोग्न परेन ।

पिएचडी औपचारिक शिक्षाको माथिल्लो सिँढी हो । पिएचडी को नाम मैले अलिक पछि मात्र सुनेको हुँ । मानिसले आफू बाँचेको परिवेशबाट सिक्ने रहेछ । हाम्रो गाउँ नेर्पामा सबैभन्दा बढी बि. ए. पास गर्ने मन्दत्त राई हुनुन्थ्यो र १–२ कक्षा पढ्दा म पनि बीए पास गर्छु भन्ने सोच्थेँ । ३–४ कक्षातिर पढ्दै थिएँ सायद, दसैँमा मावल जाँदा मामा र बुबाहरूले “लौ त्यो दोर्पा खरबारीका खेमराज खनालले धेरै पढेछन् । उनले ‘ल पास’ गरेछन्” भनेर कुरा गर्नु भयो । त्यो सुन्दा मलाई पढाइमा कपास, खपास, गपास…. हुँदै अन्तिममा ज्ञपास हुने रहेछ र खेमराज भन्ने मान्छे लपास सम्म पुगेछन् भन्ने लाग्यो । त्यतिबेला मैले मनमनै ए त्यसले लपास गरेछ, म चाहिँ ज्ञपास गरिछाड्छु भन्ने अठोट गरेथेँ । केटाकेटी अवस्थामा गरेको त्यस्तो अठोटले मलाई बारम्बार झस्काउँथ्यो र पछि मैले त्यो ज्ञपासलाई पिएचडी का रूपमा बुझेँ । यसबाट मलाई जसरी हुन्छ पिएचडी पूरा गर्नै पर्छ भन्ने भित्री अठोट जाग्दथ्यो र त्यो पूरा पनि भयो ।

पिएचडी उपाधि पाउँदा निकै खुसी भइयो, जीवनमा ठुलै काम गर्न सकेजस्तो लाग्यो तर त्यसो होइन रहेछ । यो त एउटा गहन र चुनौतिपूर्ण भूमिका पूरा गर्ने प्रतिबद्धता वा अठोटको वैधानिक स्वीकृति पो रहेछ । विश्वबिदालयले लौ तँ फलानो विषयमा अनुसन्धान गर्न योग्य भइस् भनेर दिएको प्रमाणपत्रको नाम नै पिएचडी रहेछ । हामीकहाँ अध्ययन–अनुसन्धानको काम नगन्य मात्र भएको छ । गर्न सक्दा अनुसन्धानको अथाहा क्षेत्र छ, तर हामीकहाँ अध्ययन–अनुसन्धान एक प्रकारले उपेक्षित छ । पँुजीवादमा भर्खर बामे सर्दै गरेको उपभोक्तावादमा भने चुर्लुम्म डुबिसकेको हाम्रो परिवेश हो । यतिबेला हामी समाज, राष्ट्र र ज्ञानविज्ञानका क्षेत्रमा कसले कति बढी योगदान दियो भन्ने कुराको होइन, कसले कति सम्पत्ति कमायो भन्ने हिसाबकिताब गर्दछौँ र जसरी होस् (भ्रष्टाचार, कालो धन्दा, ठगी, डकैती गरेर भए पनि) धेरै धन कमाउन सक्नेलाई महान् मान्छौँ । हाम्रो सरकार र सरोकारवाला निकायहरूका दृष्टिमा पनि अनुसन्धानको क्षेत्र प्राथमितामा पर्दैन । अनुसन्धानको कामलाई देश विकासको आधार मानिनु पर्दथ्यो, तर सरकार र एन्जिओ–आइएन्जिओहरूले यसलाई डलरखेतीको हतियारका रूपमा मात्र लिएका छन् । भाषा–साहित्य जस्ता विषयको अनुसन्धान गर्ने कुरा त झनै ओझेलमा छ । यस्तो अवस्थामा मैले जानेको अनुसन्धान सीपलाई म कति उपयोग गर्न सक्छु भन्ने विषय निकै चुनौतीपूर्ण छ । यही चुनौतीको सामना गर्न सक्दा मात्र मैले पाएको बिदावारिधिको सार्थकता रहने हुनाले मैले आफ्नो हर प्रयत्न त्यतैतिर केन्द्रित गर्नै पर्दछ ।

प्रतिक्रिया