‘राधा र रेवतले रुझाउनै–रुझाए !’

0
462

खोटाङ माघ–२५, मौसम खुल्ला थियो । दर्शक तथा सहभागी खचाखच थिए । कार्यक्रम वडो रौनकताका साथ अघि वढिरहेको थियो । नृत्य प्रस्तुत गर्नका लागि रंगीचंगी वनेका कलाकार टोलीहरुको चहलपहल बाक्लै थियो । विद्यालयको फराकिलो प्राङ्गण वरीपरी वृद्दवृदाको जमात ठूलो देखिन्थ्यो भने त्यस पछिको चौघेरामा अभिभावक तथा अन्य दर्शकहरु । माथिल्लो मैदानको डिल र विद्यालयको वार्दलीमा विद्यार्थीहरुको वर्चस्व थियो ।

प्रमुख अतिथि प्रतिनधिसभा सदस्य विशाल भट्टराई, बिशेष अतिथि पूर्व सांसद सरस्वती वजिमय लगायत जिल्लाका नेता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद पौडेल लगायत सुरक्षा निकायका प्रमुख, शिक्षाप्रमी, वुद्घिजीवि, पत्रकार गरी ठूलो संख्यामा रहेका विशिष्ट व्यक्तिहरु मञ्चमा आसिन थिए ।

कार्यक्रमको मध्यभाग पुग्दा नपुग्दै करिव दिनको २ वजेतिर आकास मडारियो । वतास चल्न थाल्यो । सञ्चालिकाले कार्यक्रमलाई रफ्तारमा दौडाउन खोज्दा–खोज्दै एक्कासी मौसमले उग्र रुप लियो । मञ्च भत्काउने झोंकले हावापानी चल्यो । वृद्दबृद्दाको भागाभाग चल्यो । दर्शकदीर्घा तितरवितर वने । एकै छिनमा मञ्चमा आसिन विशिष्ट व्यक्तित्वहरु वाहेक मैदान र आसपास सुनसान वन्यो । विद्यार्थीहरुलाई विद्यालयको कक्षाकोठामा सुरक्षित हुन सचेत गराउँदै सञ्चालिकाले भनिरहिन्–‘अनुकुल मौसम हुनासाथ कार्यक्रम फेरि सुचारु हुनेछ ।’ तर न त मौसम अनुकुल भयो न त कार्यक्रम रोकियो ।

तब झन् जोड् जोड्ले कार्यक्रम अगाडी बढ्यो, जव गायिका राधा राई र गायक रेवत राईको नाम उच्चारण भयो । गायक रेवत जे जति दर्शक भए पनि गीत गाउन तयार बने । सोही विद्यालयको पूर्व विद्यार्थी भएकोमा गर्व गर्दे रेवतले गीत गाउन सुरु गरे ।

पानी परिरह्यो, ताली वजिरह्यो, गीत गुञ्जिरह्यो । झन् झन् दर्शक वढे । रेवतले दर्शकको जोशलाई ख्याल गर्दै गीत निरन्तर गाए, गाईरहे । छेकेन झरीले, रोकेन चिसोले । ‘दिखुवा साँघु तरेर..’ गाउँदै अघि वढेको गायक राईले ‘पग्लिजान्छ हिमाल…’ हुँदै सात गीतमा दर्शकलाई झुमाएर अन्तिममा डान्सिङ नम्बर ‘नो डाउड..’ भन्दै सवैलाई नचाएर बिट मारे । ७ गीत गाई सक्दा पनि दर्शक नाच्न खोजि नै रहे । तर गायिका राधा राईलाई स्वागत गर्दै रेवत पछि सर्नै पर्ने अवस्था थियो ।

माघे झरी परि नै रह्यो । गायिका राधा मन्द मुस्कान सजाउँदै मञ्चको अघिल्लो भागमा उत्रिईन् । सुमुधर आवाजले स्पर्श गर्न सुरु गरिन दर्शकको मनलाई । ‘लेकैवाट..’ वोलको  गीतवाट दर्शकको भिजेको मनमा पसेकी राधा वीचवीचमा भन्दैथिईन–‘भाई अगाडी मञ्चमै नै आएर नाच्नुस, भिज्नु’भो विचरा..’ । तर संगीतको सुरमा रमरम वनेको दर्शक किन भाग्थे झरीसँग, नाचिरहे, नाचिरहे । अन्तिममा ‘खैजेरी र मादलु..’ वोलको गीतमा वेस्सरी झुमाउँदै पछि हटिन् गायिका राधा । राधाले पनि ७ वटा गीत गाईन् । संगीतको शक्तिका कारण दर्शकलाई माघेझरीले छेकेन । गाउने कार्यक्रम सकिएपछि लस्करै उकालो लाग्दै गरेका एक जना वुढी आमै भन्दैथिईन–‘यस्तो चिसो झरीमा तीनि दुईले रुझाउनै रुझाए ए !’

दिक्तेलवजारस्थित पञ्च माविको स्वर्ण महोत्सवको समापन कार्यक्रममा राधा र रेवतको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागे पनि प्रतिकुल मौसमका कारण केही खल्लो भएको थियो । साता दिन अघि सुरु गरिएको स्वर्ण महोत्सव विविध कार्यक्रम गर्दै शुक्रवार समापन गरिएको छ । पञ्च मावि जिल्लामै उत्कृष्ट विद्यालय भएको भन्दै यही वर्ष प्रदेश नम्वर एकले पाँच लाख रुपैंयाँ पुरस्कार प्राप्त गर्न सफल बनेका छन् । २०२४ सालमा स्थापित उक्त विद्यालय जिल्लाकै एक मात्र बालीविज्ञान पठनपाठन हुने विद्यालय हो ।

प्रतिक्रिया