हातखुट्टा दुवै गुमाएका हरिकाजी भन्नुहुन्छ, “आफैले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको बिचल्ली भयो !”

0
618

केदार मगर/खोटाङ,

११-माघ,   भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडीरहन्छन् अनगिन्ती झिङ्गा र भुसुना । झिङ्गा र भुसुनाले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका हुन्छन् । बारम्बार दुःख दिने झिङ्गा र भुसुना धपाउन उनीसँग न त हात छन्, न खुट्टा नै । बाँकी छ केवल शरीर मात्र !
नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी हरिकाजी ढुङ्गाना कार्यालयले खाटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछि यस्तो अवस्थामा पुग्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी केही वर्ष पहिलेसम्म गाउँकै सबैभन्दा बलिया युवा हुनुहुन्थ्यो ।
हात खुट्टा छँदा गाउँमा कोही बिरामी परे बोकेर अस्पताल पु¥याउनेदेखि गाउँमा नयाँ घर बनाउनेका लागि सिङ्गो निदाल काँधमा हाल्ने हरिकाजी मात्रै हुनुहुन्थ्यो । त्यही साहसिक व्यक्ति भएकै कारण हरिकाजीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा तार तान्नेदेखि पोल ठड्याउने र मिलाउने प्राविधिकको जागिर पाउनुभएको हो ।
सबै मानिसका लागि उज्यालो दिन बनाइएको विद्युत अहिले ३७ वर्षीय हरिकाजीको जीवनका लागि भने अहिले अन्धकार छाउने माध्यम बन्न पुगेको छ । अरुलाई उज्यालो दिन विजुलीको तार जोड्न पोलमा चढ्नुभएका हरिकाजीले करेन्ट लागेसँगै दुवै हात र एउटा दाहिने खुट्टा गुमाउनुभएको हो ।
करेन्टले डढेर हात–खुट्टा पग्लिएपछिको उहाँको हातखुट्टा प्लाष्टिकको डण्डी जस्तै देखिन्थ्यो । हरिकाजीलाई बचाउन काठमाडौंस्थित बि.एण्ड.बि. अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जण्ट वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।
उमेर ढल्कँदै गएको बुबाआमाका साथमा बस्नुभएका हरिकाजीको त्यो बेला श्रीमतीको पेटमा हुर्कदै गरेको नासो थियो । दुर्घटनामा परेको केही महिनापछि हरिकाजीका श्रीमती सीताले दोस्रो सन्तानका रुपामा छोरालाई जन्म दिनुभयो ।
आँखाबाट आँसु बगाउदै हरिकाजीका श्रीमती सीताले भन्नुभयो, “उहाँको शरीर मात्र बचाउन सकेपनि ठूलो प्राप्ति भएको छ ।” उहाँले थप्नुभयो, “अहिले देब्रे खुट्टाका केही औला समेत छैनन् । दुई हात र दाहिने खुट्टाको माथिल्लो भागमै काटेर फालिएको चार वर्ष भयो । अहिले उहाँ शरीर मात्र लिएर बाँचीरहनुभएको छ । सारा गाउँबस्ती उज्यालो पार्न हिड्नुभएका उहाँको अहिले जीवन नै अन्धकार भएको छ ।”
शरीर मात्र बाँकी रहेपछि परिवारकै जीवन कष्कर बन्दै गएको हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिको नाममा केही पाखो बारी मात्र छ । घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् ।
वृद्ध बुबाआमा र बहिनी हरिकाजीकै सहारामा थिए । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार सहारा विहिन बनेका छन् । अहिले उनीहरुको घरमा चुल्हो बाल्न नै धौधौ परेको छिमेकी बताउँछन् ।
श्रीमती, छोरी र वृद्ध अवस्थाका बुबाआमाका साथमा हरिकाजीका अर्का दूधे बालक पनि थपिएका छन् । हातगोडा हुँदासम्म हरिकाजी परिश्रम गर्न रोजगारीका लागि खाँडी मूलुकसम्म पुग्नुभएको थियो । त्यहाँ पनि राम्रो कमाइ नभएपछि स्वदेश फर्कनुभएका हरिकाजी प्राधिकरणमा जागिर खाएर जीवन कटाउने योजनामा हुनुहुन्थ्यो ।
त्यही जागिर अहिले उहाँका लागि अन्धकार बनाउने माध्यम बनेको छ । उनीहरुका परिवार र उहाँको मुडो शरीरलाई भरण पोषण तथा बृत्ति विकासका लागि अहिलेसम्म कसैले भरपर्दो सहारा दिन सकेका छैनन् ।
आफू यस्तो हालतमा पुगेपछि विद्युत प्राधिकरण, उर्जा मन्त्रालय लगायतमा बारम्बार हारगुहार गर्दा पनि आफूले पाउने तलब समेत नपाएको हरिकाजीले बताउनुभयो । “प्राधिकरणकै काममा मेरो यस्तो हालत भयो । आफूले पाउने तलब पाए पनि बाँच्ने आश आउथ्यो ।” उहाँले गुनासो सुनाउँदै भन्नुभयो, “दुवै हात र खुट्टा गुमाएपनि अहिले म स्वस्थ छु । त्यसैले मलाई अझै बाँच्न मन छ ! म आफैले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबालिकाको बिचल्ली छ । उनीहरुको जीवन र भविष्य मसँगै जोडिएकाले शिर निहु¥याएर सहयोगी मनहरुलाई भन्छु कि, मेरो र परिवारको जीवन रक्षाका लागि थोरै भएपनि आर्थिक सहयोग गरिदिनुहोस् ।”
हरिकाजीलाई हलेसी तुवाचुङ नगरपालिकास्थित अर्खौलेको बर्खेटारमा एघार केभी क्षमताको विद्युत लाईन मर्मत गर्नेक्रममा करेन्ट लागेको थियो । वि.सं. २०७० साल चैत १६ गते करेन्ट लागेर बेहोस अवस्थामा हुनुभएका हरिकाजीलाई तालिम सकाएर घर फर्कँदै गरेका नेपाली सेनाका जवानले उद्दार गरेका थिए ।
उद्दारपछि उपचारका लागि काठमाडौं लगिएका हरिकाजीको अहिलेसम्म रु. ३६ लाखभन्दा बढी खर्च भइसकेको आफन्त झमप्रसाद आचार्यले बताउनुभयो । “हरिकाजीको उपचारमा लागेको रकममध्ये रु. २६ लाख विद्युत प्राधिकरणले उपलब्ध गरायो ।” उहाँले भन्नुभयो, “बाँकी रकम ऋण काढेर चलाइएको छ । अहिले पैसा माग्नेहरु दैनिकजसो घरमा आउँछन् । अहिले उनीहरुलाई के जवाफ दिने !, परिवारलाई के खुवाउने र ती दूधे बालबालिकालाई कसरी पढाउने अन्यौलमा परेका छौं ।”
हरिकाजीको परिवालाई सहयोग गर्न चाहनेका लागि राष्ट्रिय बाणिज्य बैङ्क ललितपुर शाखामा रहेको बचत हिसाब नम्बर ११२००२१९७३१० गर्न सकिने आचार्यले बताउनुभयो ।
घरका एक्ला छोरा हरिकाजीका लागि सहयोग जुटाउन उपचारकै क्रममा ललितपुरमा उक्त बैङ्क खाता खोलिएको हो ।
कमाएर ल्याउने हरिकाजीकै हालत यस्तो भएपछि उनीहरुका आँखा अहिले ओभाएका छैनन् । हरिकाजीले जीवन रक्षा, दिगो जीविकोपार्जन, आजीवन आर्थिक वृत्ति र परिवारको संरक्षण गर्नुपर्ने भन्दै अहिले पनि नेपाल प्राधिकरण गुहारी रहनुभएको छ ।

प्रतिक्रिया