खोटाङ माघ–७, मानसिक समस्याबाट पीडित हुँदा खोरमा थुनिन वाध्य महिलाको उपचारपछि परिवारमा खुशियाली छाएको छ । मानसिक सन्तुलन गुम्ने समस्याबाट ग्रसित भएपछि परिवारले खोरमा थुनेर राखेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीय रमिला तामाङको उपचारपछि स्वास्थ्य ठीक भएपछि परिवार खुशी वनेका हुन् ।
मानसिक अस्वस्थतापछि गाउँघरमा विज्याईं गर्र्नें, वालवच्चा तथा पशुचौपाय कुटपिट गर्ने लगायत अस्वभाविक व्यवहार तथा गतिविधि गर्न थालेपछि करिव डेढ वर्ष अघिदेखि तामाङलाई पशुलाई सरह खोरमा थुनेर राखिएको पाईएको थियो । तामाङलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईको पहलमा पुस ६ गते मानसिक अस्पताल लगनखेलमा भर्ना गरिएको थियो । गाउँपालिका प्रमुख राईले पुस ३ गते खोरबाट उद्धार गरी उपचारका लागि काठ्माण्डौं पठाएको तामाङलाई सोमबार डिस्चार्ज गरिएको हो ।
अस्पतालसम्म पु¥याउनका लागि १० हजार प्रदान गरेका गाउँपालिका प्रमुख राईले रमिलाको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च व्यक्तीगत रुपमा आफैले व्यहोर्ने बताउनुभयो ।
रमिलाको मानसिक अवस्थामा सुधार आएपछि तामाङ परिवारमा खुसीयाली छाएको छ । उपचार पनि रमिलाको मानसिक अवस्थामा पूर्ण सुधार भएको श्रीमान मनीकुमार तामाङले जनाउनुभयो । उपचारको क्रममा करिब ६० हजार खर्च भए पनि श्रीमतीको स्वास्थ्यमा सुधार आएकोले खुशी लागेको श्रीमान तामाङको भनाई छ । मनिकुमारका अनुसार रमिलालाई नियमित औषधि खुवाउन डाक्टरले सल्लाह दिएका छन् । डाक्टरले तीन महिनापछि चेकजाँचमा ल्याउन सल्लाह दिएको समेत तामाङले सुनाउनुभयो ।
उपचारपछि रमिलाले आफुलाई पहिलेको कुरा राम्रो याद नभएको वताउने आफन्तले जनाएका छन् । रमिलालाई विरामी हुँदाको सम्झनावारे सोध्दा टाउको दुख्ने अनि के के हुने थाहा नहुने वताउने आफन्तको भनाई छ ।
गीत गाउने, नाच्ने, मन लाग्दो गर्ने, थालबटुका फाल्ने, खुकुरी बोक्ने, गोरु फुकाइदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने लगायतका अस्वभाबिक क्रियाकलाप देखाइरहेपछि आफन्तले तामाङलाई खोरमा थुनेर राखेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई परिवारले सुबिधा सम्पन्न अस्पतालमा पु¥याउन नसक्दा खोरमा थुनेर राखेको बताइएको छ । २०७४ साल असार ७ गते टाउको दुखेको बताएकी रमिलामा अस्वभाबिक समस्या देखिन थालेको स्थानीयले बताएका छन् । उपचारका लागि गत मंसिरमा धरानमा लगिए पनि स्वास्थ्य समस्या हल नभएपछि उनलाई घरैमा फर्काइएको आफन्तको भनाई छ ।