काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रिया शुरु गरेको छ । ठेकेदार कम्पनीले असुरक्षाको कारण देखाउँदै काममा फर्कन नमानेपछि मेलम्ची खानेपानी बोर्डले ठेकेदारलाई १४ दिने सूचना जारी गरेको छ ।

सरकार र ठेकेदारबीचको ठेक्का सम्झौताअनुसार रद्द गर्नुअघि १४ दिने सूचना जारी गर्नुपर्ने प्रावधानअनुसार बोर्डले सूचना जारी गरेको हो । पटकपटक ताकेता गर्दा पनि कम्पनी नफर्किएपछि बाध्य भएर रद्द प्रक्रिया शुरु गर्नुपरेको आयोजना स्रोतले जनाएको छ ।

अब नयाँ ठेकेदार नियुक्त गरी काम शुरु गरिए अर्काे तीन वर्षमा मात्रै आयोजनाको काम पूरा हुनेछ । सरकारले माघ २७ गते मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्घोष गरेको भएपनि अझै तीन वर्ष कुर्नुपर्ने देखिएको छ । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।