काठमाडौं । साइबरसम्बन्धी अपराध गर्नेलाई अब १ करोडसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने भएको छ । सरकारले नयाँ कानुनमार्फत् यस्तो व्यवस्था गर्न लागेको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याउन लागेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवम् सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि १ करोडसम्म जरिवाना हुने साथै ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

विधेयक कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदको निर्णयका लागि प्रधानमन्त्री कार्यालय पुगिसकेको छ । मन्त्रिपरिषदले निर्णय गरेपछि संसद सचिवालयमा दर्ता गरिनेछ । संसदमा छलफल र आवश्यक परिमार्जनपछि यसले कानुनी मान्यता पाउनेछ ।