खोटाङ पुष–२५, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो नगरपालिकाको हरेक वडामा पत्रकार उत्पादन अभियान थालेको छ । नगरपालिकाभित्र सूचनाको पहुँच विस्तार गर्दै सुशासन र सदाचार कायम गर्न हरेक वडामा पत्रकार उत्पादन गर्ने अभियान शुरु गरिएको नगर प्रमुख ईवन राईले वताउनुभयो ।
गाउँठाउँमा बसोवास गर्ने हरेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकायमा पु¥याउने उद्देश्यले पनि यस्तो अभियान थालिएको नगरप्रमुख राईको भनाई छ । अभियान अनुरुप हलेसीमा हालै मात्र चार दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरिएको छ । नगरपालिकाको प्रत्येक वडामा एक÷एक जना व्यवसायिक पत्रकार उत्पादन गर्ने उद्देश्यले आयोजित चार दिने आधारभूत पत्रकारिता तालिमको समापनमा वोल्दै सहभागीहरुलाई व्यवसायिक पत्रकारको रुपमा स्थापित हुन नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग हुने जनाईएको छ ।
तालिम संयोजक एवम् तुवाचुङ साप्ताहिक पत्रिकाका प्रबन्धक÷सम्पादक दिपेन्द्र राईले सहभागी प्रशिक्षार्थीलाई आ–आफ्नो क्षेत्रमा हुने गतिविधिलाई समाचार बनाउन सक्ने बनाएर सम्प्रेशन गर्ने सञ्चारमाध्यमको व्यवस्था समेत गरिएको जनाउनुभयो । तालिमको सहजीकरण राजधानी काठमाडौं तथा जिल्लामा रहेर लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका अग्रज पत्रकारहरुले गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थीलाई पत्रकार, पत्रकारिता, समाचार लेखन, सम्प्रेशन, सञ्चारमाध्यम, पत्रकार आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीलाई व्यवसायिक पत्रकार बनाउन रिफ्रेशन तथा एड्भान्स तालिम समेत दिइने आयोजकले जनाएको छ । नगरपालिकाको आयोजना तथा तुवाचुङ साप्ताहिक पत्रिकाको सहजीकरणमा आयोजित पत्रकारिता तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा सहभागी वक्ताहरुले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागी प्रशिक्षार्थीलाई आग्रह गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाभित्र ११ वडा वडा रहेका छन् ।