वियस राईको पहिलो कथा संग्रह ‘हिउँमाझी’

0
377

भिम राई
गाली र छाडा लाग्ने कुरालाई विस्तारी मिलाएर भन्दा खेरी राम्रो र रमाईलो र मन छुने हुँदो रहेछ । नेपाली शब्दकोषमा भएका सबै गालीहरुको प्रयोग मिलाएर साहित्यमा राखियो भने सुन्दा त्यस्तो अश्लिलता पटक्कै झल्कन्न रहेछ । प्रयोगमा आएका धेरै ठेट शब्दहरुको संयोजन गर्ने कलाले पोख्त एक युवा सशक्त कथाकार वियस राईको कथासंग्रह ‘हिउँमाझी’ सँग भेट भो । भर्जिन कथाकारको भर्जिन शैली ।
‘कुइरेनी ल्याम्छु ।’
‘इ ल्याम्छस् कुइरेनी, को भन्दा तुइँ तिखेले ।’
बाले मर्दा पत्याएनन्, पत्याउने कुरै थेन । यसो हेरेको ता, बुढाले देब्रे हातको चोरऔँला र माझी औँलाको बीचाँ दाईने हातको चोर औँला छिरा’र पो देखाई’का रछन् ।
हिउँ माझीको पहिलो कथा ‘नाम्लो’मा मखमल परियार र उनका छोरा तिखे बिच भएको संवाद आफैमा भर्जिन शैलिको देखिन्छ । कथाकारले टिपेको विषयले रोमाञ्चक बनाउँदै मानवीय संवेगहरुको संयोजन यस कथामा पोखेका छन् । ‘नाम्लो’ देखिएको एक गरिव तथा अनपढ व्यक्तिले पोटरबाट गाइड हुने देखेको सपना, पाएको अवसर तथा चुनौती र त्यसलाई ग्रहण गर्ने क्षमताको बारेमा कथाले सामाजिक यर्थाततामा उभ्याएको छ । कथामा पर्यटकका रुपमा आएकी डेजीले तिखेलाई टिके बनाउनु, कुईरेनीको गाईड बनेर हिमाली भेगमा टुटेफुटेको अंग्रेजीमा घुमाउनु लानु, नाम्चेमा पुगेर रेष्ट गर्ने दिन स्याङबाचे घुमाएर ल्याएको प्रसँग होस या रम खाँदै गर्दा डिजे कोठामै रिर्चाज कार्ड पु¥याउन जाँदाको प्रसँग होस् । कथाकारले खेलाएको विम्बले पात्रलाई न्यायपूर्ण बनाएकै छ । तिखेलाई उदाहरण बनाएर अन्तमा काम गर्दा कोही सानो भईन्न भन्ने सन्देशले सायद ‘नाम्लो’ कथाको विम्ब सँग मेल पो खान्छ की ?
कथाकार राईले ‘हिउँमाझी’ १३ वटा कथाका थुँगाहरुलाई एउटा मालामा उनेर बाहिर देखाएका छन् । उनको अर्को कथा हो ‘टुङना’ । अलिकती प्रेम, अलिकती माया, अनि धेरै बढी कर्तव्यको समिश्रण रहेको कथाका रुपमा ‘टुङना’ उभिएको छ । फूल्सानीलाई म्हे म्हेले दिएको टुङना र टुङना सँगै दिएको मायाको ठुलो भारीलाई राजनीतिक स्वार्थ नामको आँधीवेहरीबाट जोगाउन हितैषी पासाङलाई जिम्मा लाएर फूल्सानी हिँड्नु । त्यस कथाको नियती हो । एघार बर्षको राजनीतिक द्धन्द्ध र यसले देखाएको प्रत्यक्ष असरको प्रतिनिधी कथा हो । आदीवासी समुदायमा द्धन्द्धले लगाएका निशानी हुनसक्छ फूल्सानीलाई जर्वजस्त युद्धमा जानुपर्ने अवस्थाको सिर्जना हुनु । पासाङले घर छाडेर प्रहरीको जागीरमा जानु । प्रमुख जिल्ला अधिकारीलाई मातृभाषी शैलीबाट सम्बोधन गर्नु । फूल्सानीको मृत्युको घटना थाहा पाएपछि प्रमुख जिल्ला अधिकारीलाई पासाङले फूल्सानीले छाडेको चिनो ‘टुङना’ जिम्मा दिनु आदीवासी जनजाती हुनुको इमान्दारीतामात्र होइन । हाल बजारमा देखिएको सस्तो माया प्रेमको नाटकलाई चोटिलो जवाफ पनि हो । कथाकार राईले यो विषयलाई छर्लङ उतारेका छन् ।
कथाहरुले सिर्जना गरेका धेरै विषयहरु छन् संग्रह भित्र । ‘चन्दा’ शिर्षकको कथाले जातीय विभेदको उछितो काडेको छ । एक शब्दमा ‘ तिम्रा घराँ म छिर्दा त बाहुन पढाएर चोख्यायौ । तिम्री स्वास्नीमा मेरो रगत छि¥यो, अब कसरी चोख्यायँछौ बाजे ?
एक पछि अर्को विषयमा बियसले आफ्नो साहित्यीक औकातलाई असरल्ल पारेका छन् संग्रहभित्र । संग्रहभित्रको अर्को यस्तै अर्को विषय दरिलो उभाएर ल्याएका छन उनले ‘चञ्चला’ कथामा । महिला माथी हुने सबैखाले हिंसा अन्त्य गर्ने नाममा भईरहेका कुकृत्यका बारेमा कथाले राम्रै शिक्षा प्रदान गरेको छ । चञ्चला जस्ता कृयाशिल र क्षमतावान फर्साइला नारीहरुमाथी खेलबाड गर्ने र त्यही पापमोचन गर्न चौतारीको मादल सम्झनेहरुले नारी संवेदनाको कुनै सम्मान गर्न नसक्ने निष्कर्शका साथ आएको हो यो कथा । एउटी नारी छोरीबाट आमा हुने तरखरमा पुग्दा समेत उनले पाएका अधिकारको बारेमा समाजले देखाउने व्यवहार र नारी पुरुष समान भन्ने नाराप्रति भईरहेको नौटंकीको पर्दाफास हो यो कथा ।
बियसका प्राय कथाहरु आञ्चलिक छन् । आफ्नै गाउँघर र परिवेशसँगै आफ्नै भुगोललाई उने कथाको भुगोल दिएका छन् । यीनै कथाहरु मध्येको कथा हो ‘माफ’ । वर्तमान समयमा गाउँघरमा आधुनीकताको नाममा विलिन हुन लागेको मौलिक तथा साँस्कृतिक कुराहरुको बेहिसाब छिनोफानो गर्ने प्रयास स्वरुप आएको कथा हो यो । लेखकको आफ्नै जन्मस्थानलाई भुगोल बनाइएको कथामा स्थानीय बोलीचाली र रहनसहनको वासना आउँछ । लोपु हुँदै गईरहेको मारुनीको संरक्षणमा यूवाहरुको सक्रियता घट्दै गएको र आधुनीकताका नाममा संस्कृतिहरु परिस्कृत हुँदै गरेको सन्दर्भमा आएको कथाका रुपमा ‘माफ’ उभिएको छ । गै¥हाघरेले युवाहरुको मौलिक संस्कृति र रितिरिवाज प्रति बढ्दै गरेको वितृष्णाका विरुद्ध गरेको विद्रोहका रुपमा कथाले प्रतिविम्वत गरेको छ ।
संग्रहको विचभागमा रहेको छ । पुस्तकको शिर्ष कथा ‘हिउँमाझी’ । सोलुखुम्बु अर्थात लेखकको जन्म जिल्ला । पर्यटकीय उदगम स्थल । विश्वको सर्वोच्च शिखर चोमालुङमा भएको ठाउँ । जिल्लाको माथील्लो भेगमा हिमालै हिमाल, हिउँ नै हिउँ । हो यहि हिँउको बाटो हिँडाएर हिमालको चुचुरो चुम्ने रहर पालेका विदेशी पर्यटकहरुलाई हिमाल चढाउने बहादुरहरुको कथा हो ‘हिउँमाझी’ । नामको भन्दा पनि दुःख टार्न दामकालागि काम गर्नेहरुको साँचो इतिहाँस बोलेको कथा । कथाकार स्वंयमले निकै कठोर अध्ययन अनुसन्धान गरेरमात्र लेखेका हुन यो कथा । ‘हिउँमाझी’ पढ्दै जाँदा पाठकको मनले माउण्ट एभरेष्ट चढन थाल्छ पात्रहरुसँगै र कथा अन्त्य हुँदा एकसरो हिमाल नै सबै भोगीसक्छ । कथाको बलियो आधार यो भन्दा अरु के नै हुन्छर ? कथाकारले पाठकलाई आफैसँग लिएर हिँडने आफैसँग ल्याएर फेरी उही ठाउँमा छाडिदिने गर्छन । तर यो कथामा सँगै हिँडेका कथाको पात्रले सम्झनामा मात्र दिँदैनन् । शिक्षा, संघर्ष, वस्तुपरक जानकारी पनि पाउन उतिकै प्रदान गरिदिन्छ । नेपाल राष्ट्रप्रतीको अगाध स्नेह, आफ्नै माटोमा रमाउनुको गौरव यस कथामा भेटिन्छन् । मिङमा यस कथाको मुख्य पात्र हुन । उनी समग्र पर्वतारोहीहरुको पथ प्रदर्शक प्रतिनिधी पात्र ‘हिउँमाझी’ हुन् । हुनत कथामा भएका अन्य शेर्पाहरुपनि उतिकै महत्वपूर्ण छन् । एक अर्काको सहकार्यविना यो काम सहज छैन । यो कथाले दिएको मिठो सन्देश हो । भने मिङमाले अन्तिममा आएर नेपाल छाडेर कतै नजाने विचार कुरा बोनिटालाई भनिरहँदा देशप्रेमको अत्यन्त प्रष्ट छाँया कथामा रहेको छ । ‘हिउँमाझी’ पढिरहँदा मिङमाको ठाउँमा तिखेलाई हेर्न मनलाग्छ । शिर्षक सार्थकताका हिसाबले नाम्लो र हिउँमाझी कथाको भुगोल र विषय मिलेको भएपनि यर्थातमा परक परिवेशमा बगेका कथाहरु रहेका छन् । लुक्लाको एअरपोर्टबाट नाम्चे सम्मको पाटो ‘नाम्लो’ कथाले बोकेको छ । भने साँच्चे हिमाल चढ्ने अभिलाषा बोकी आएका र सगरमाथाको सफल आरोहण गर्नेहरुले भोग्ने र खेप्नेहरुको कथा बनेको छ ‘हिउँमाझी’ ।
यस भित्र रहेका सबै कथाहरु उतिकै समान्दर्भिक र यथार्थपरक रहेका छन् । सरुवा, बयान, नाकाबन्दी, हिजोको कुरा, जोखना आदी कथाहरु पनि उतिकै रमाईला र शिक्षामुलक छन् । जसलाई चर्चा गर्न अर्को यस्तै विमर्शमा लाग्नु पर्दछ ।
समग्रमा कथाकारको कथाले जीवनलाई छुन्छ होइन अठ्याउँछ । कल्पनामा उड्ने होईन यर्थाततमा उभिन सिकाउँँछ । कथाकारको कथ्य शैली यसै भर्जिन भनिएको होईन उनी आफैमा सिर्जनात्मक छन् । नेपाल प्रहरी जस्तो २४ सै घण्टा डिउटी गरिरहनु पर्ने सरकारी कार्यालयका जागीरे उनी डिउटीबाट बचखुचेको समयमा कथा लेख्छन् । उनको जीवनको भोगाई, देखाई, र हेराईको मिलन विन्दु हो उनको सिर्जना । आफुले सरकारी जागीरको शिलसिलामा प्रत्यक्ष देखेका भोगेका कुराहरुलाई सामाजिकरुपमा सार्वजनीक गर्ने ढंगका निकै धनि उनका कथाहरुमा कल्पनाशिलता भन्दा बढी सत्यतथ्य घटनाहरुले नै घर गरेको उनले बताएका छन् ।
‘हिउँमाझी’ अहिले देश दौडाहामा निस्केको छ । विदेशी भुमीहरुमा कुदिरहेको छ । सबैको आँखा अगाडि उभिएर नेपाल र नेपाली हुनुको अर्थ खोजिरहेको छ । उसले नेपालको एउटा सिँगो पहिचान दिलाउन आक पाठकहरुको बिचमा उभिरहेको छ । खासमा पढ्नु ज्ञान आर्जन गर्नुमात्र होईन आनन्दबोध गर्नुपनि एक हो भन्नेहरुका लागि यी दुवैकाम गर्न सक्ने एक संग्रह बनेको छ ‘हिउँमाझी’ । यीनै ‘हिउँमाझी’ बाबु तथा आमा वियस राई र जन्माउने बेला सहयोग पु¥याउने सुडेनीहरु सबैलाई हार्दिक शुभकामना । ‘हिउँमाझी’ ले आफु जस्तै अरु सन्ततीको जन्म हुने बाटो खोलिदेओस् यो पनि शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here