खोटाङमा शुक्रबार हिमपात, चिसो अझै बढ्ने

खोटाङ । जिल्लामा शुक्रबार हल्का वर्षा उच्च भेगमा हिमपात भएसँगै जाडो बढेको छ । जाडो भने अझै बढेर जाने देखिएको छ ।

मौसम अनुमान गर्ने अन्तराष्ट्रिय विभिन्न संस्थाहरुको तथ्यांक अनुसार मुलुकका विभिन्न भागमा जस्तै खोटाङमा पनि जाडो बढ्ने देखिएको हो ।

खोटाङमा शनिबार करिब ६ बजेको तापक्रम करिब ९ डिग्री सेल्सियस रहेको छ । यो तापक्रम आइतबार, सोमबार, मंगलबार अझै घटेर ६ डिग्री सेल्सियससम्म हुने र बुधबार ५ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ । बिहीबारदेखि भने तापक्रम केही सुधार हुने अनुमान गरिएको छ ।

शुक्रबार खोटाङमा सामान्य वर्षा भएको थियो । वर्षासँगै जाडो निक्कै बढेको छ । शुक्रबार दिक्तेल लगायत स्थानमा सामान्य वर्षा भएको थियो भने उच्च लेकाली भेगमा हिमपात समेत भएको थियो ।