खोटाङ पुष–८, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर आज आईतबार बिहान तीन बजे दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुईटेल र सोही नगरपालिकाको वडा नम्बर–७ दोर्पाचिउरीडाँका १९ वर्षीय खेमराज भुजेलको मृत्यु भएको हो ।
सोही ट्याक्टरमा सवार निर्मलीडाँडाकै २१ वर्षीय दुर्गाबहादुर लुईटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । बेहोस अवस्थामा रहेका उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौंको ट्रमा सेन्टर पठाईएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालीखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक मीनप्रसाद र ट्याक्टरमा सवार माइकलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते बनेका सहचालक खेमराजको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेलबाट खाली फर्किएको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको जनाइएको छ ।
ट्याक्टर दुर्घटना हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।