खोटाङ पुष–३ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सिसी क्यामेरा जडान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलवजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले बजारको मुख्य–मुख्य चौकमा सिसी क्यामेरा जडान गरिएको हो ।

बजार क्षेत्रमा गरिने जथाभावी पार्किङ, यत्रतत्र राखिने निर्माण सामग्री, सडक पेटीमा व्यापारिक सामान राखेर गरिने बिक्री/वितरण नियन्त्रण गर्ने उदेश्यले सिसी क्यामेरा जडान गरिएको जनाईएको छ । धुमपान तथा मध्यपान सेवन तथा चोरी/डकैती लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामेरा जडान गरिएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो ।

बजार क्षेत्रमा हुने हरेक क्रियाकलाप सिसी क्यामेराको माध्यमबाट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने रिजालको भनाई छ । आगामी दिनमा नियम विपरितको कार्य गर्ने जो कोही उम्कने अवस्था नभएको नगर प्रमुखले जनाउनुभयो ।

दिक्तेल रुपाकोट नगरपालिकाको दश लाख रुपैंयाँको लगानी गरी बजार क्षेत्रका १२ ठाउँमा सिसी क्यामेरा जडान गरिएको जनाइएको छ । दिक्तेलको रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचौक, भानुचौक, हाटडाँडा र अस्पताल चौकको विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका आइटी अफिसर सुवाश राईले जानकारी दिनुभयो ।

नगरपालिकाले जडान गरेको सिसी क्यामेराले बजारको सुरक्षामा समेत सघाउ पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । सिसी क्यामेरा चौबीसै घण्टा सञ्चालनमा रहने हुनाले दिउसो वा राति जुनसुकै समयमा भएका सबै गतिविधिको रेकर्ड रहने केसीले बताउनुभयो ।
सिसी क्यामेरा अभावमा यसअघि दिक्तेलबजारमा दिनदहाडै आपाराधिक क्रियाकलाप भए पनि दोषी पत्ता लगाउन गाह्रो हुने गरेको प्रहरीले जनाएको छ । जिल्लाको दश स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक सार्वजनिकस्थलमा सिसी क्यामेरा जडान गरेको हो ।