फार्मका कुखुराहरु धमाधम मर्न थाले, एक सातामा ६ हजार मृत

रामधन राई
खोटाङ २३ मंसिर । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका व्यवसायिक कुखुरा फार्मका कुखुराहरु धमाधम मर्न थालेका छन् । स्थानीय मुनाल कार्कीको खोटाङ हलेसी एग्रीकल्चर एण्ड लाइभस्टक प्रालि अन्तरगतको फर्ममा पालिएका कुखुरा दैनिक रुपमा मर्न थालेको हो ।

११ हजार कुखुरा रहेको फर्ममा मंसिर १९ गते यता ६ हजार कुखुरा मरिसकेको जानकारी आएको नगरपालिकाका मेयर इवन राईले बताए ।

दैनिक कुखुरा मर्न थालेको र मरेका कुखुरा दुधकोशीमा फाल्ने गरिएको जानकारीका आधारमा नगरका पशु सेवा शाखाले अनुगमन गरेको छ । अनुगमनका क्रममा चिसोका कारण श्वास प्रस्वासमा समस्या आएपछि लाग्ने क्रोनिक रेस्पीटरी डिजिज (सिआरडी) का कारण कुखुरा मरेको खुलेको पशु सेवा शाखाका प्रमुख गणेश नेपालीले बताउनुभयो । पसु सेवा शाखाको अनुगमनपछि मरेका कुखुरालाई चुन छर्केर खाल्डोमा पुर्ने व्यवस्था मिलाइएको छ ।