काठमाडौं
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट गोविन्द आचार्यको प्यानल विजयी बनेको छ । एमाले निकट प्रेस चौतारी पदाधिकारी र खुल्लामा शुन्य बन्यो भने कांग्रेस, माओवादी केन्द्र र मसाल निकटका प्रगतिशिल पत्रकारको संयुक्त प्यानल विजयी बन्यो ।

राजधानीमा ४–५ भदौमा सम्पन्न महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रेस चौतारीसहित अन्य साना संगठनको समर्थनमा रहेका तिर्थ कोइराला प्यानललाई हराउँदै प्रेस सेन्टर, प्रेस युनियन, प्रगतिशिल पत्रकार संघ लगायतको आचार्य नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।
अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत प्राप्त गरे ।

नवनिर्वाचित अध्यक्ष आचार्यले महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । उनीहरु प्रेस युनियन निकटका हुन् ।
महिला सचिवमा प्रेस सेन्टर नेपाल निकटकी लक्ष्मी पुन, आदिवासी जनजाती प्रगतिशिल पत्रकार संघ निकटका सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा युनियनका राजेश मिश्र निर्वाचित बने ।
यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।
एशोसियट तर्फ पवन आचार्य र राधेश्याम दाहाल विजयी भएका छन् ।
महासंघको पदाधिकारीमा आचार्यको पूरै प्यानल आएको छ । केन्द्रीय सदस्य अन्तर्गत खुल्ला, प्रदेश तथा समावेशीमा भने मिश्रित नतिजा आएको छ ।
खुल्ला केन्द्रीय सदस्यहरुमा आचार्य प्यानलका जन्मदेव जैशी, टेकराज शाही, नकुल अर्याल, लक्ष्मण कार्की, हरिहर सिंहर राठौर निर्वाचित बने ।
यस्तै, महिला केन्द्रीय खुल्लाबाट युनियका जानुका बराल, सृजना अर्याल र चौतारीका तर्फबाट श्वेता सिन्हा विजयी बने । यस्तै केन्द्रीय सदस्य दलिततर्फ गोपाल बराइली र मधु शाही यस्तै, आदिवासीतर्फ टेकराज थामी र राजेश चाम्लिङ, मधेसीतर्फ अवधेश कुमार झा र सुरेश कुमार यादव, आपंगतातर्फ माधव चौलागाई र अल्पसंख्यकमा छेटु शेर्पा विजयी बने ।
प्रदेश एकबाट प्रेस चौतारीका सटेन्द्र जबेगु र युनियनका उद्धव तिमिल्सिना निर्वाचित भए ।
प्रदेश दुईबाट सेन्टरका देवराम यादव र युनियका शैलेन्द्र झा, प्रदेश नम्बर ३ बाट चौतारीका द्धारिका काफ्ले र कृष्ण गिरी, प्रदेश नम्बर ४ बाट चौतारीका रामकृष्ण ज्ञवाली (र सेन्टरका नवीन कुइँकेल, प्रदेश नम्बर ५ सेन्टरका बसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी, प्रदेश नम्बर ६ बाट युनियका कलेन्दू सेजवाल र सेन्टरका पूर्ण प्रसाद चौलागाई, प्रदेश नम्बर ७ बाट युनियनका मीन बम र चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टले बराबर मत प्राप्त गरे ।
यस्तै, काठमाडौं उपत्यकाबाट सेन्टरका लेखनाथ न्यौपाने र चौतारीका गोविन्द चौलागाई, प्रतिष्ठानबाट सेन्टरका टिकाराम प्रधान र युनियनका यम बिरही निर्वाचित बने ।