खोटाङ असोज–६, बैदेशिक रोजगारीमा गएका अभिभाबक गुमाउने खोटाङका २२ बालबालिकाको लागि छात्रबृत्ति रकम आएको छ । बैदेशिक रोजगारीको क्रममा बिदेशमै ज्यान गुमाउने अभिभाबकको बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालयमा बैदेशिक रोजगार प्रबद्र्घन बोर्डबाट छात्रबृत्ति रकम आएको हो ।

बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका अभिभाबकको बालबच्चाले अध्ययन गर्दै गरेको बिद्यालय तथा जिल्ला शिक्षा कार्यालयको सिफारिस, राहदानी, श्रम स्विकृति, नाता प्रमाणित, करार अवधीमा मृत्यु भएको खुल्ने कागजात वा मृत्यु दर्ता लगायतको कागजात उपलब्ध गराएपछि सो छात्रबृत्ति रकम उपलब्ध गराईन्छ । बैदेशिक रोजगारीमा जाँदा कल्याणकारी कोषमा अनिबार्य जम्मा गर्नुपर्ने एक हजार रुपैंयाँ रकम अन्र्तगत नै छात्रबृत्ति प्रदान गरिने ब्यवस्था बैदेशिक रोजगार प्रबद्र्घन बोर्डले गरेको छ । 

८ कक्षासम्मका बिद्यार्थीलाई बार्षिक ८ हजार र १२ कक्षा सम्मका बालबालिकालाई बार्षिक १२ हजार रकम छात्रबृत्ति स्वरुप प्रदान गरिने जनाईएको छ । यो बर्ष जिल्लाका बिभिन्न २२ बालबालिकाका लागि जम्मा १ लाख ४४ हजार रकम आएको जिल्ला शिक्षा कार्यालयमा उल्लेख छ । छात्रबृत्ति उपलब्ध गराउनका लागि जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी सुचना तथा परामर्श केन्द्रले सम्पर्क–समन्वय गर्दै आएको छ । अघिल्लो बर्ष जम्मा ३ जनाले यस्तो छात्रबृत्ति प्राप्त गरेको थियो । बोर्डले यस्तो सेवा–सुबिधा प्रदान गरे पनि त्यसको लागि सुचना, जानकारी तथा सम्पर्क समन्वय नहुँदा जिल्लाका कतिपय बालबालिका यस्तो सेवाबाट बञ्चित हुने गरेका छन् ।