खोटाङ, १० कात्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपाल खोटाङबाट उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागीरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नुभएका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्नो कार्यकर्ता खटाएर रायो, मुला र केराउको बीउ बाँड्न लगाउनुभएको छ ।
तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्र समेत बाँड्ने गरेका छन् । बीउ र घोषणापत्रसँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा मदन राई को हो ? शिर्षकको राईको जीवनीसमेत राखिएको छ ।
झण्डै महिनादिन अघिदेखि चुनावी प्रचारमा लाग्नुभएका राईले आचारसंहिता विपरित जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन् । जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका दश जनाको उम्मेदवारी परेको छ ।
कृषि क्षेत्रको विज्ञ मानिनुभएका राईले भने, भोटका लागि नभइ जिल्लावासीलाई तरकारीमा आत्म निर्भर बनाउन बीउ वितरण गर्न लगाएको प्रतिक्रिया दिनुभएको छ । “जिल्लामा अझै पनि तरकारी उत्पादन गरेर खाने वानीको विकास भएको छैन ।” उहाँले भन्नुभयो, “बाहिरबाट आयातित वस्तुलाई निरुत्साहित गर्दै जिल्लालाई समृद्धितर्फ लैजान चुनावी अभियानसँगै तरकारीको बीउ वितरण गरिएको हो ।”
साकेला गाउँपालिका–२ रतन्छा स्थायी घर भएका राईले वितरण गर्न लगाउनुभएको तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मुला र करिब २०० को हाराहारिमा रायोको बीउ रहेको छ । चुनावी अभियानमा जनताको घरमा जाँदा खाली हात जानुभन्दा थोरै भएपनि कोसेलीस्वरुप तरकारीको बीउ लिएर जाने गरिएको अभियानमा खटिनुभएका सुर्यबहादुर राईले बताउनुभयो ।
कृषि क्षेत्रमा विज्ञता हाँसिल गर्नुभएका राईले तरकारीको बीउ वितरण गर्न लगाउनु कुनै ठूलो विषय नभएको कतिपयको प्रतिक्रिया छ भने, कतिपयले सामाजिक सञ्जालबाटै चर्को बिरोध गर्ने गरेका छन् । अहिले उम्मेदवार बन्नुभएका राईले जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा तरकारी खेती गर्न सकिन्छ भन्ने ज्ञान दिनुभएको जिल्लाका अगुवा कृषकहरु बताउँछन् ।
भर्खरै नयाँ शक्ति नेपालको राजनीतिमा छिर्नुभएका राईलाई जिल्लावासीले उति महत्वका साथ भने हेरेका छैनन् । जिल्लाबाट प्रतिनिधिसभाका लागि दश जनाको उम्मेदवारी परेपनि बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का विशाल भट्टराई र नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लावासीको अनुमान छ ।
बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका भट्टराईलाई नेकपा (माओवादी केन्द्र) लगायत साना कम्युनिष्ट दलले सघाउने देखिन्छ । काँग्रेसबाट उम्मेदवार बन्नुभएकी बजिमयलाई राप्रपाले सघाउने स्रोतले जनाएको छ ।
नयाँ शक्तिका उम्मेदवार राईलाई सघाउने राजनीतिक दल अहिलेसम्म देखिएको छैन । सरकारी सेवाबाट अवकास प्राप्त राईलाई उहाँले खोल्नुभएको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थी तथा केही कार्यकर्ताको साथ रहेको छ ।
उसो त प्रदेशसभाको दुवै क्षेत्रमा उम्मेदवारी दिएको नयाँ शक्ति नेपालका नेताले चार दिनपछि बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका मणि राईले एकसाथै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।