खोटाङ कात्तिक–१४, बैदेशिक रोजगारीका क्रममा कतारमा ठगिएका खोटाङका तीन जनाको उद्दार गरिएको छ । काम गर्ने कम्पनीबाट भनेको काम र लामो समयसम्म दाम नपाएका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरीको खोटाङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी) सुचना तथा पराममर्श केन्द्रको सहयोगमा उद्दार गरिएको हो । 
योङ म्यान पावर कम्पनीबाट मासिक ११ सय रियाल तलबमा कार्पेण्टरका लागि भनेर ६ महिना अघि कतार गएका धनकेशरले हेल्परको काम दिनुका साथै ४ महिनासम्म तलब नदिएको भन्दै उद्दारका लागि सामीमा सम्पर्क गरेका थिए । भनेको भन्दा कम भए पनि शुरुको २ महिनासम्म तलब दिएको त्यसपछि लगातार ४ महिनासम्म तलब नदिएको गिरीको भनाई छ । गिरी स्वयमले सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएको थियो । गिरी गत कात्तिक ३ गते नेपाल फर्किका हुन् ।
यस्तै, ईन्टरनेशनल जब लिङ्क म्यानपावर कम्पनीबाट जनही ७० हजारका दरले रकम बुझाएर ९ महिना अघि बैदेशिक रोजगारीमा गएका खाल्लेका खड्काद्वयलाई पनि पछिल्लो ४ महिना लगातार तलब नदिएको बताईएको छ । गत असारदेखि तलब नपाएपछि परिवारमा सम्पर्क गरी सुचना तथा परामर्श केन्द्रमा कागजात पु¥याई उद्दारका लागि पहल गरिदिन भनिएको थियो । बैदेशिक रोजगारीमा जानुपुर्ब घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भए लगत्तै बैदेशिक रोजगार बिभागमा मुद्घा दर्ता गरेको करिब एक सातामै उनिहरुलाई नेपाल फर्काईएको परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो । 
ठगिएका तीनै जनालाई सुचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानुनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरम काठमाण्डौंको सहयोगमा बैदेशिक रोजगार बिभागमा मुद्घा दर्ता गराई नेपाल फर्काईएको हो । फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही ७० हजार रुपेैंयाँ एजेण्टले फिर्ता गरिदिने सर्त राखेको बताईएको सुचना तथा परामर्श केन्द्रका परामर्शकर्ता दाहालको भनाई छ । 
परामर्शकर्ता दाहालका अनुसार खाल्लेका खड्काद्वयसँगै ठगीमा परेका उदयपुरका प्रकाश राई अनि दाङका बिशाल चौधरीलाई समेत सुरक्षित आप्रवासन परियोजना खोटाङको सहयोगमा उद्दार गरिएको थियो ।