कात्तिक–२९ , हेटौंडामा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी चलाउँदा तीन छिमेकीको ज्यान गएको छ। मकवानपुरको मनहरि गाउँपालिका–७, बिजौनामा खुकुरी प्रहारका कारण स्थानीय ५२ वर्षीय सीताराम धिताल, उनका छोरा १३ वर्षीय सुदीप र झाँक्री बुढा भनेर चिनिने करिब ६० वर्षीय जितबहादुर ब्लोनको मृत्यु भएको हो।
मंगलबार साँझ करिब साढे ५ बजे स्थानीय सुमन बराइलीले एकाएक खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। बराइलीले अन्धाधुन्ध आक्रमण गर्दा घाइते भएका सीतारामको मनहरि स्वास्थ्य केन्द्रमा र सुदीप र ब्लोनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा साँझ करिब पौने ७ बजे मृत घोषित गरिएको प्रहरीले बताएको छ।
बराइलीले छिमेकीहरूको किन हत्या गरे भन्ने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरिले जानकारी दिएको छ। आक्रमणकारी बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।    (न्युज अफ नेपालबाट)